आईतवार ७, कार्तिक २०७८ Sun,24 Oct 2021

सर्वाधिकार सुरक्षित

आइसल्याण्डमा झण्डै ४८ प्रतिशत महिला सांसद



सोमबार ११ , आश्विन २०७८

११ असोज, काठमाडौं । आइसल्याण्डको संसदमा महिला र पुरुषको संख्या झण्डै बराबरी देखिएको छ । सोमबार सार्वजनिक भएको मत परिणामअनुसार ६३ सिटको संसद्मा ३० महिला सांसद निर्वाचित भएका छन् ।यसअघि प्रारम्भिक मतगणनाअनुसार ३३ महिला उम्मेदवार सांसदमा निर्वाचित हुन सक्ने देखिए पनि अन्तिम परिणामअनुसार ३० महिला सांसद निर्वाचन भएका हुन् । यससँगै आइसल्याण्ड युरोपमा संसद्मा महिला सहभागिता धेरै भएको मुलुक बनेको छ । आइसल्याण्डको संसदमा महिला सांसदको उपस्थिति ४७ दशमलव ६ प्रतिशत छ । महिला सहभागिताको आधारमा दोस्रो स्थानमा रहेको स्वीडेनमा ४७ प्रतिशत र फिनल्याण्डमा ४६ प्रतिशत महिला सांसद छन् । इन्टर पार्लिमेन्टरी युनियनका अनुसार रुवान्डामा महिला सांसदको अनुपात सबैभन्दा धेरै छ । यो मुलुकमा ६१ प्रतिशत सांसद महिला छन् । त्यस्तै क्युबा, निकारागुआ र मेक्सिकोमा महिला सांसदको हिस्सा ५० प्रतिशतभन्दा धेरै छ । समग्र विश्वमा भने महिला सांसदको हिस्सा एक चौथाइभन्दा केही बढी मात्र छ । बेलायतको हाउस अफ कमन्समा ३४ प्रतिशत महिला सांसद छन् भने अमेरिकी संसदको तल्लो सदनमा महिलाको हिस्सा २७ प्रतिशत मात्र छ । करिब ३ लाख ७१ हजार मानिसको जनसंख्या रहेको आइसल्याण्ड विश्वको सबैभन्दा धेरै लैङ्गिक समानता भएको मुलुक हो । आइसल्याण्डको निर्वाचनको मतपरिणाममा प्रधानमन्त्री क्याटरिन जाकोब्सडोटिरको पार्टीको गठनबन्धनले संसदमा आफ्नो स्थान बलियो बनाएको छ । यो गठबन्धनले ३७ सिट जितेको छ ।

Featured News

Advertisement