सोमबार ११, जेष्ठ २०८३ Mon,25 May 2026

सर्वाधिकार सुरक्षित

वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे



बिहीबार २१ , श्रावण २०७८

मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनयता अस्पतालमा बिरामीको सङख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।” उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकी आएका छन् ।” मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका डा जोशीको भनाइ छ । “निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको सङख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।” वर्षातको समयमा पानीका मुहान दुषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा जोशीको आग्रह रहेको छ । साथै निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

Featured News

Advertisement