समालोचक प्राडा त्रिपाठीलाई नइ रजत महोत्सव पुरस्कार
नेपाली समालोचना क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई विसं २०७७ को नइ रजत महोत्सव पुरस्कारद्वारा सम्मानित गरिएको छ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रु पाँच लाख नगदसहित सम्मान पत्रद्वारा प्रा डा त्रिपाठीलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित गर्नुभयो । यसैगरी समालोचक त्रिपाठीलाई नै विसं २०७६ को नइ ईश्वर बराल पुरस्कारद्वारा सम्मानित गरिएको छ । पुरस्कारको राशि रु एक लाख छ । गत वर्ष कोरोना महामारीको जोखिमका कारण विसं २०७६ पुरस्कार पनि यसै वर्ष प्रदान गरिएको जानकारी गराइएको थियो । सनातन वैदिक धर्म संस्कृतिको जागरणमा महत्वपूर्ण योगदान दिनुभएका प्रा डा दीर्घराज घिमिरेलाई रु एक लाख राशिको नइ चन्द्रधन पुरस्कारद्वारा सम्मानित गरियो । यसैगरी पूर्व उपप्रधानमन्त्री कमल थापालाई रु एक लाख राशिकै नइ कीर्तिनिधि पुरस्कारद्वारा सम्मानित गरिएको थियो । थापालाई राष्ट्रिय स्वाभिमान तथा अखण्डतालाई कायम राख्न योगदान गरेवापत् सम्मानित गरिएको हो । प्राप्त पुरस्कार सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा कार्यक्रममा उहाँले गर्नुभयो । नेपाल टेलिभिजनको स्थापना एवं चलचित्र र नाटक क्षेत्रमा योगदान गर्नुभएका कलाकार नीर शाहलाई नइ देरुनीख सुकीर्ति पुरस्कारद्वारा सम्मानित गरियो । पुरस्कार राशि रु एक लाख नै छ । यसैगरी प्रा डा राजेन्द्र विमललाई रु एक लाख राशिको नइ भूपाल दर्गा पुरस्कार, सन्तोष शर्मालाई रु एक लाख राशिकै नइ भाजप पुरस्कार, डा मणिन्द्ररञ्जन बराललाई रु एक लाख राशिकै नइ भावि पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विसं २०७६ र २०७७ मा साहित्य, कला, संस्कृति, चिकित्सा, बाल चित्रकला, बाल साहित्यलगायत विधामा योगदान गर्ने करिब दुई दर्जन व्यक्तित्वलाई नगदसहित सम्मान पत्रले सम्मानित गरिएको थियो । प्रकाशनले साहित्यिक क्षेत्रमा योगदान गर्नेलाई विभिन्न व्यक्तिको सहयोगमा स्थापित पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृतिविद् जोशीले साहित्यको विभिन्न क्षेत्रमा योगदान गर्नेलाई प्रकाशनले प्रत्येक वर्ष पुरस्कार दिएर प्रामाणिक अभिलेख राख्ने राजा मानदेवको जस्तै ऐतिहासिक काम गरेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री थापाले विचारका पछि कति मानिस छन् भन्ने नसोची देश र जनताका लागि उपयुक्त विचारका पक्षमा लागेको बताउनुभयो । यसलाई आफूलाई आनन्द, खुशी दिनुका साथै पछि त्यस विचारका पक्षमा मानिसको भीड लाग्ने गरेको उहाँले सुनाउनुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व त्रिपाठी, प्रा केशव सुवेदी, प्रा डा महादेव अवस्थी, प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाइ र सदस्य सचिव नरेन्द्रराज प्रसाइलगायतले नेपाली साहित्य, सम्मानित व्यक्तित्व, नेपाली साहित्य क्षेत्रमा प्रकाशनले पु¥याएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।