ग्रीनवे नेपालद्वारा ‘बाइक टु स्कुल’ सचेतना अभियानलाई तीब्रता
बेलिना थापा
काठमाडौं । माइ वे ग्रीनवे (मेरो बाटो, हरियाली बाटो) को अवधारणाका साथ अघि बढिरहेको ग्रीन वे नेपालले ‘बाइक टु स्कुल’ एवं विद्यालयसम्म साइकल सचेतना अभियानलाई तीब्रता दिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, युवायुवतिलाई लक्षित गरी युवास्तरबाटै कार्बन उत्सर्जनको सचेतना बढाउन र वातावरण प्रदूषण घटाउन विभिन्न जिल्लामा उक्त अभियान सञ्चालन गर्दै आएको छ ।
हाल ग्रीन वे नेपाल र प्रिमियर इन्टरनेशनल आईबी कन्टीन्युम स्कुल, ललितपुरको समन्वयमा अभियान अघि बढ्ने भएको छ । ग्रीन वे नेपालका कार्यक्रम व्यवस्थापक प्रजुल मानन्धरका अनुसार आउँदो चैत १६ गते बिहीबारबाट अभियान सञ्चालन हुँदैछ । उक्त विद्यालयका कक्षा ११ का ४१ जना विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराइने उनले बताए ।
सो प्रशिक्षणमा विद्यार्थीलाई ग्रामिण तथा सहरी क्षेत्रमा साइकल चलाउँदा अपनाउनुपर्ने सुरक्षाबारे साइकल सिटी नेटवर्क नेपालले प्रशिक्षण दिनेछ । विद्यार्थीलाई प्रशिक्षकको रुपमा स्थापित गर्न प्रशिक्षण लिएका विद्यार्थीहरुबाट केही विद्यार्थी छनौट गरिने र उनीहरुले अन्य विद्यालयका विद्यार्थीलाई तालिम प्रदान गर्ने ग्रीन वे नेपालले जनाएको छ ।
तालिम लिएका विद्यार्थीले चैत २० गते विरगंजको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिने छन् । उक्त विद्यालयका ४० जना विद्यार्थी प्रशिक्षणमा सहभागी हुने छन् । विशेष गरी, तराई क्षेत्रका मानिसले बढी मात्रामा साइकल प्रयोग गर्ने र उनीहरुले सहरी क्षेत्रमा पनि सुरक्षित तवरले साइकल चलाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिने कार्यक्रम व्यवस्थापक मानन्धरले जानकारी दिए ।
‘तराईका अधिकांश विद्यार्थी साइकल प्रयोग गर्छन् । विद्यालय आउजाउ पनि साइकलबाटै गर्छन् । अन्य मानिसले पनि बढीमा मात्रामा साइकल नै प्रयोग गर्छन्’ मानन्धरले भने, ‘तर, ति व्यक्ति सहरी क्षेत्रमा प्रवेश गरेपछि साइकलको विकल्प खोज्छन् । विकल्प खोज्नुको सट्टा साइकल चलाउने सुरक्षित विधि पाएमा उनीहरुले सहजै चलाउन सक्छन् । उनीहरुले सतर्क भएर साइकल चलाउन सकुन् भन्ने हाम्रो लक्ष्य हो ।’ सो लक्ष्यलाई साथ दिँदै प्रिमियर स्कुलले पनि आफ्नो तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत निम्न आर्थिकस्तर भएका र साइकल नभएका विद्यार्थीलाई साइकल हस्तान्तरण गर्ने भएको छ ।
ग्रीन वे नेपालको उदाहरणीय अभियानलाई प्रिमियर स्कुलले पनि साथ दिएको स्कुलका प्रधानााध्यापक सरमिस्था आचार्य मुखर्जीले बताइन् ।
ग्रीनवे नेपालले यसअघि पनि ‘बाइक टु स्कुल’ अन्तर्गत गत माघ २३ गते काष्ठमाण्डप विद्यालय, काठमाडौंका विद्यार्थीलाई साइकल संस्कृतिबारे सचेतना गराएको थियो ।
ग्रीनवे नेपाल विभिन्न ४ संस्थाहरु, (२ गैर सरकारी संस्थाः साइकल सिटी नेटवर्क नेपाल र सानो पाइला, (२ निजी क्षेत्र ः नक्शा र ग्रीन डिसिजन ल्याब एण्ड रिसर्च) हरुको संयुक्त कार्यक्रमबाट बनेको सामाजिक संस्था हो । ग्रीनवे नेपालका यी चारै संस्थापक संस्था दिगो सामाजिक तथा वातावरणीय क्षेत्रमा काम गर्ने संस्थाहरु हुन् ।